Monday, December 12, 2016

टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantage and Disadvantage of Shaking Head

छोटो जानकारी, २०७३ मंसिर २८

हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई लागेको होला । म यस लेखको मूल आशयलाई एउटा सानो उदाहरणका आधारमा स्पष्ट गर्ने प्रयास गरेको छु । 


भौतिक शास्त्रका परीक्षण र प्रवचनहरुमा सबै मानिसहरु असल र स्वतन्त्र उद्देश्यले उपस्थित भएका हुँदैनन् । यसको उदाहरणका लागि एउटा कार्यक्रमलाई लिन सकिन्छ । केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा राखिएको एउटा प्रवचन कार्यक्रम राखिएको थियो । मैले उक्त कार्यक्रममा न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको विश्लेषण र न्युटनको चालको दोस्रो नियममा रहेको त्रुटि शीर्षकमा वक्ताका रुपमा जानकारीहरु प्रस्तुत गरिरहेको थिएँ । त्यहाँ प्रायः एमएससी पढ्दै गरेका र पढिसकेका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थितमध्ये एक सहभागीले जे बोले पनि होइन भन्ने आशयमा टाउको हल्लाउने उद्देश्य लिएर सहभागिता जनाएका रहेछन् । 


कार्यक्रममा मैले व्याख्या गर्दै जाँदा चालको दोस्रो नियमले बलसँग पिण्ड र प्रवेगको गुणनफल बराबर हुन्छ वा F = ma भन्दछ भनी बताएँ । त्यतिबेला पनि उनको टाउको होइन भन्ने आशयका साथ हल्लियो । उनले आफूलाई भौतिक शास्त्रमा एमएससी सकेको बताएको पाएको थिएँ । मैले बोर्डमा लेखेर देखाएपछि पनि उनले एकछिन टाउको उसै गरी हल्लाए । मैले सोचेँ उनको यो बानी रहेछ । तर पछि कुरा बुझेपछि त्यति धेरै सहभागीहरुका अगाडि केही लाज मानेजस्तो गरे । एकछिनपछि टाउको हो भन्ने आशयमा हल्लाए । उनको अनुहारमा केही फरक रङको रगत संचार भयो । अन्ततः यसबाट सबैभन्दा बढी बेफाइदा उनलाई नै भयो । आफ्नै बद्नियतका कारण उनले आफ्नो नैतिक र सामाजिक उचाइ घटाए ।


एकातिर बेफाइदा गर्ने कतिपय काम र व्यवहारहरुले अर्कातिर फाइदा पुर्याउन पुग्छन् । हामीलाई भने यी र यस्ता घटनाका कारण समाजका सबै मानिसको उद्देश्य र नियत सोझो हुँदैन भन्ने शिक्षा प्राप्त भयो । यो कुरा बुझ्न पनि लामो समय लाग्यो । त्यतिबेला जेजस्तो लागे पनि आजकाल भने कार्यक्रमहरु उपस्थित भएर हाम्रा लागि यस्तो महत्त्वपूर्ण ज्ञान दिन भूमिका निर्वाह गर्ने उनी र उनीजस्ता मनोवृत्तिका सहभागीहरुलाई समेत हामी सबैले धन्यवाद दिनुपर्छ भन्ने लागेको छ । विज्ञानमात्र होइन अन्य क्षेत्रमा पनि यस खालका समस्याहरु देखा पर्न सक्छन् । जसलाई हामीले चिन्ताको विषयका रुपमा नलिई शिक्षाका रुपमा ग्रहण गर्नु बुद्धिमानी हुन्छ । हामी विज्ञानलाई विज्ञानजसरी पढ्छौँ भन्छौँ तर यसलाई समेत अस्वस्थ राजनीतिभन्दा पनि निम्न कोटिको विषयका रुपमा अपनाउँछौँ भने अरु क्षेत्रको अवस्था कस्तो होला ? कुरो ज्ञान, विज्ञान, समाज, नियत र हाम्रो भूमिकाको ।  

भविन्द्र कुँवर (भवभिन्न)

No comments:

Post a Comment